रणोद्दीपसिंह कुँवर
रणोद्दीपसिंह कुँवर | |
---|---|
१० औँ प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल वि.सं.१९३३ फागुन १५[१] – वि.सं. १९४२ | |
पूर्वाधिकारी | जङ्गबहादुर राणा |
उतराधिकारी | वीर शमशेर |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १८८२ ३ अप्रिल १८२५ |
मृत्यु | वि.सं. १९४२ |
जीवन साथी | हरिप्रियादेवी |
रणोद्दिप सिंह बहादुर कुँवर राणा वा रणोद्दिप सिंह कुँवर (१९३३-१९४२) राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। दाजु जङ्गबहादुर राणाको निधन पश्चात् जङ्गबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को पदमा विराजमान भए।
भतिजाहरू (दाजु जङ्गबहादुर र भाइ धीरशमशेरका छोरा) बीच चर्किएको शक्ति संघर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले 'बिजुली गारत' नाममा विशेष फौज निर्माण गरेका थिए। तर पछि यिनी आफ्नै भतिजाहरू (धीरशमशेरका छोराहरू) बाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा वीर शमशेर जङ्गबहादुर राणा नेपालका प्रधानमन्त्री बने।
रणोद्दिपसिंहको जन्म पिता काजी बालनरसिंह कुँवरको सातौँ पुत्र र माता गणेश कुमारीको पाचौँ पुत्रको रूपमा भयो। उनी निःसन्तान रहेकाले भतिजा ध्वज नरसिंह राणा लाई धर्मपुत्र बनाएका थिए। उनी अत्यन्त धार्मिक व्यक्ति थिए। उनको हत्या आफ्नै भतिजाहरूद्वारा वि.सं. १९४२ मा भयो। [२]
सैन्य वृत्ती
[सम्पादन गर्नुहोस्]उनले तेश्रो नेपाल तिब्बत युद्ध (सन् १९५५-५६) र भारतमा सन् १८५७ मा घटेको सिपाही बिद्रोहमा नेपाली सेनाको नेतृत्व गरेका थिए।
श्री ३ महाराज तथा प्राइममिनिस्टर
[सम्पादन गर्नुहोस्]वि.सं. १९३३ मा पत्थरघट्टामा श्री ३ तथा प्रधानमन्त्री जङ्गबहादुरको मृत्यु भएपछि; धीर शमशेरको चातुर्यताले रणोद्दिप सिंहले श्री ३ महाराज तथा प्राइममिनिस्टर दुवै पद हासिल गरे। रणोद्दिप सिंहलाई दुवै पद दिलाउन धीर शमशेरले सो समाचार सार्वजनिक हुन दिएनन्। उनले जङ्गबहादुर सिकिस्त बिरामी रहेको भन्दै युवराज, जंग पुत्र जगतजंगलाई पत्थरघट्टा पठाए।
श्री ३ रणोद्दीप निश्शङ्क, विश्वास गर्ने उनको बानी र आफू श्री ३ हुन पाएकोमा धीरशमशेर सँग र आफ्नो खानदान बढाइदिने दाजु जङ्गबहादुर सँग ज्यादै अनुगृहीत थिए। उनी सुधारवादी नहुँदा त्यस्ता उल्लेखनीय काम हुन सकेन। बरु जङ्गबहादुरले थापाथलीमा खोलेको दरबार अङ्ग्रेजी स्कुललाई रानीपोखरीको पश्चिम तर्फ गाईगोठमा स्थानान्तरण गर्ने काम उनले गरे। उनी अदूरदर्शी र राजनीतिक धूर्तताबाट बिलकुल टाढा तथा योग्य-अयोग्यताको पहिचान गर्न नजान्ने राजनीतिक चक्रव्यूहमा परेका मन्द राजनीतिक खेलाडी थिए।[३]
कार्यहरू
[सम्पादन गर्नुहोस्]- रणोद्दीप सिंहले बिजुली गारतको गठन गरेका थिए।
- नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा विक्रम सम्वत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ।[४]
३८ सालको पर्व
[सम्पादन गर्नुहोस्]मुख्य लेख : ३८ सालको पर्व
वि.सं. १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिंह सिकारको लागि तराई गएको बेलामा (कतै कतै भारतमा तिर्थ गर्न गएको बेलामा उल्लेख छ), नरेन्द्र बिक्रम शाह (राजा सुरेन्द्रका पुत्र)ले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति धीर शमशेर र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए। तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह, जगतजंग राणा, बमवीर सिंहलाई इलाहावादको चुनारगढ किल्लामा नजरबन्द गरिएको थियो।
हत्या
[सम्पादन गर्नुहोस्]प्रधानमन्त्री रणोद्दीप सिंहले राजपाट भतिजा जगतजंगलाई सुम्पेर आफू सन्यासी बन्ने सोच बनाएका थिए। तर रोलक्रमबाट हटाइएका राज्यको बागी जगतजंगलाई उत्तराधिकारी बनाउदा बिद्रोह हुन सक्ने डर पनि उनको मनमा थियो।
४२ सालको पर्व
[सम्पादन गर्नुहोस्]मुख्य लेख : ४२ सालको पर्व
वि.सं. १९४२ (२२ नोभेम्बर १८८४) रात वीर शमशेर, खड्ग शमशेर, चन्द्र शमशेर र भिम शमशेर सैन्य परेडको लागि हतियार देखाउने जरुरी काम रहेकाले भेट्नु पर्ने भनेर प्रधानमन्त्री निवास नारायणहिटी प्रवेश गरे। ठिक ९:३० बजे गोडामा तेल लगाएर घोप्टिएर पिपलको पातमा रामनाम लेखिरहेको अवस्थामा धीरसमशेरका चारभाइ छोराहरु डम्बर,खड्ग, भीम र चन्द्रले 'पेटिकोट मुन्तिरबाट शासन गर्नेको यस्तै हुन्छ' भनि रणोद्वीप सिंहको टाउकोमा गोली प्रहार गरेका थिए। 'मार्यो पापीले' भन्दै रणोद्वीप सिंह पीपलपत्रमा घोप्टिन पुगे। त्यसपछि भीमसमशेरले यिनको तिघ्रामा गोली हने। धीरसमशेरका छोराहरुले रगतले मुछिएको यिनको शरीरलाई घिसार्दै भर्यांगबाट निर्ममतापुर्वक तल खसाले। भोलिपल्ट सुब्बा चन्द्रकान्त नामक एक ब्राह्मणद्वारा अति सामान्य ढंगबाट यिनको दाहसंस्कार गराइयो। दाहसंस्कारमा ५० पैसा खर्च भएको थियो।[५] वीर शमशेरले आफूसँग रहेका सैनिकहरूको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे। जङ्गबहादुरको छोरा जगतजङ्ग राणा र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४२, आइएसबिएन 99933-2-406-X।
- ↑ http://www.royalark.net/Nepal/lamb4.htm
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४४, आइएसबिएन 99933-2-406-X।
- ↑ हुलाक सेवा विभाग वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-१२ मिति
- ↑ "श्री ३ महाराजको दाहसंस्कार खर्च ५० पैसा !", नेटिजन संवाददाता, २८ चैत, २०८०।